काठमाडौं - ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिबार सम्पन्न ग्राण्ड फिनालेमा, कोच प्रमोद खरेलको टिमकी अनुयाले उपाधि हात पारिन्।उपाधिसँगै अनुयाले १० लाख रुपैयाँ नगद र प्रायोजकबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। अन्य फाइनलिस्टहरूलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। विजेता घोषणा कार्यक्रममा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले पुरस्कार प्रदान गरेका थिए।फिनालेमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, तथा कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले प्रतिस्पर्धा गरेका थिए।तेस्रो सिजनको मुख्य प्रायोजक वात्साल्य न्याचुरल आइभीएफ थियो। फिनालेमा कोचहरू र उनीहरूको टिमले सांगीतिक प्रस्तुति दिएका थिए। दर्शकहरूको भोटका आधारमा अनुया तामाङ विजेता घोषित भएकी हुन्। शनिबार साँझ ७ बजेसम्म भोटिङ खुला थियो।यसै अवसरमा, ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी पनि दिइएको थियो, जुन होस्ट सुशिल नेपालले मंचबाट घोषणा गरेका थिए।