सोलुखुम्बुको थामेमा हिमपोखरी फुट्दा विनाशकारी बाढी आएको पुष्टि

काठमाडौं— सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार आएको बाढीले हिमपोखरी नै फुटाएको छ। थुलुङ दूधकोशी गाउँपालिका-७ का वडाध्यक्ष भोजराज कार्कीका अनुसार टासी लाप्चा क्षेत्रमा रहेका पाँच प्रमुख हिमपोखरीहरूमध्ये दुईवटा हिमपोखरी बाढीमा फुटेका छन्।

रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हेलिकोप्टरबाट खिचिएको जलाधार क्षेत्रको केही फोटो उपलब्ध गराएको छ। तस्बिरमा बाढीले दुईवटा हिमपोखरी सोहरेको र अन्य दुई हिमपोखरी उच्च जोखिममा रहेको देखिएको छ। तस्बिर विश्लेषण गर्दा बाढी आउनुअघि हिमपोखरीको जलसतहको घेरा र बाढी आएपछि घटेको पानीको सतह स्पष्ट देख्न सकिन्छ।

हालसम्म सरकारी अधिकारीहरूले बाढी हिमपोखरी फुटेर मात्र आएको हो या माथिल्लो जलाधार क्षेत्रबाटै शुरू भएको एकिन जानकारी दिएका छैनन्। भूगर्भविद्‌हरूले तापक्रम र वर्षाका कारण हिउँ तीव्र गतिमा पग्लिएर पर्माफ्रोस्ट नै बगाउँदा बाढी उत्पन्न भएको र यसले टासी लाप्चाका केही हिमपोखरीलाई सोहरेको अनुमान गरेका थिए। तस्बिर विश्लेषणले भूगर्भविद्‌हरूको आकलन सटिक रहेको पुष्टि भएको छ।

थामेमा आएको बाढीले २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थामेको जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा हुँदै कोङ्दे रि सम्म फैलिएको छ। यस क्षेत्रमा केही ग्लेसियर ड्यामबाट बनेका तालहरू रहेका छन्।

प्रतिक्रिया