काठमाडौँ। हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
आज राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म सरदर स्थानको उत्तरमा अवस्थित छ। सोमबार भने केही क्षेत्रमा मात्रै वर्षा हुने अनुमान गरिएको छ। सोमबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मात्रै वर्षा हुने सम्भावना छ।
मंगलबार भने फेरि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शनिबार देशभर ठूलो पानी परेको थियो जसले संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ।
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्। अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध भएका छन्। जोखिम बढेकाले केही दिन यात्रा नगर्न सुझावसहितको सूचना सर्वसाधारणका लागि सरकारले जारी गरेको छ।