रमेश सेन्चुरी/ काठमाडौं - बागलुङ गैरागाउँ–काठमाडौं विश्वकर्मा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ। हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा काठमाडौंको बुढानिलकण्ठमा आयोजित कार्यक्रममा बागलुङको गैरागाउँमा स्थायी घर भई हाल काठमाडौंलाई कर्मथलो बनाएर बसोबास गरिरहेका महिला र संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गण्डकी प्रदेश सांसद दिलमाया रामदाम पौबीले तीजका कार्यक्रमहरूले कला र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार, तीजको मौलिकतालाई बिर्संदै गएका बेला बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजले महिलाहरूलाई एकत्रित गरी तीज कार्यक्रम गर्नु उदाहरणीय छ।
विशिष्ट अतिथि प्रहरी नायब निरीक्षक योशोदा खरेलले छोरीहरूलाई आत्मनिर्भर र निर्णयमा स्वतन्त्र बन्नुपर्ने कुरा राख्नुभयो। उहाँले छोरीहरूलाई घरबाट बाहिर पठाउँदा डराउने हाम्रो समाजमा छोराहरूलाई संस्कार सिकाउनु जरुरी रहेको कुरा जोड दिनुभयो।
समाजका अध्यक्ष नारायण विश्वकर्माले दलित समुदायलाई सरकारी तवरबाट हुँदै आएको विभेद अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले गरीबीका कारण शिक्षा, औषधि उपचार, र अन्य सिर्जनात्मक कामबाट बञ्चित भएकाहरूलाई सरकारी सहयोग आवश्यक रहेको बताउनुभयो।
कला, संस्कृति, र आपसी भावनात्मक सम्बन्धमा अभिवृद्धि गर्दै नारीहरूको सम्मानार्थ आयोजना गरिएको कार्यक्रममा संस्थाका कार्यसमितिहरूबाट आर्थिक संकलन गरिएको थियो। माईतीमा जान नसकेका चेलिबेटीहरूलाई निराश हुन नदिन आर्थिक संकलनबाट दर खाने कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा करिब २ सय जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष सरोज विश्वकर्माले तिजको शुभकामना दिँदै संस्कृतिको संरक्षण गर्न आह्वान गर्नुभयो । महिलाहरुको महान पर्वका रुपमा लिईने तिज पर्वको अवसरमा महिलाहरुले कुनै तनाव नलिई हर्ष उल्लासका साथ मनाउँदै संस्कृतिको जर्गेना गर्नुपर्ने भन्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमको सहजीकरण वरिष्ठ उपाध्यक्ष सुर्य रामदाम, सचिव भुपेन घमाल, सह-कोषाध्यक्ष सचिन विश्वकर्मा, र अन्य सदस्यहरूले गर्नुभएको थियो भने सञ्चालन महासचिव राम विश्वकर्माले गर्नुभएको थियो।