टेलिकमद्वारा बोनस सेयर दिने तयारी, ट्रेड युनियनद्वारा बिरोध


काठमाडौं– नेपाल टेलिकमले बोनस सेयर दिने भएको छ । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न २० प्रतिशत बोनस सेयर दिने तयारी गरेको छ ।
टेलिकम सञ्चालक समितिले आगामि वार्षिक साधारण सभामा २० प्रतिशत बोनस सेयर मार्फत कम्पनीको चुक्ता पूँजी १८ अर्ब पु¥याउने प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीलाई आव ०७७÷७८को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिशेयर २० रुपैयाँका दरले नगद लाभांश र प्रत्येक एक सय कित्ता बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गर्ने निर्णय गरेको छ ।


तर, यो निर्णयको त्यहाँ कार्यरत कर्मचारी ट्रेड युनियनहरुले बिरोध जनाएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनका महासचिव महेश्वर खड्का र नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले विज्ञप्ति प्रकाशित गर्दै बोनस सेयर दिने निर्णयप्रति असहमति जनाएका छन् ।


नेपाल टेलिकम वर्कर्स युनियनका महासचिव महेश्वर खड्काद्वारा जारी विज्ञप्तिमा तत्काल पुँजी वृद्धि सम्बन्धि नियामकीय बाध्यता नभएको, आयोजनाहरुमा लगानीका लागि लगानीयोग्य प्रयाप्त रकम कम्पनीसँग नभएको, कम्पनीको सञ्चिति कोष बलियो रहेको, निकट भविश्यमा लगानी र आम्दानी वृद्धिको सुनिस्चित आधार पेश नगरिएको, कम्पनीमा ठूलाका आयोजनाहरुका लागि प्रयाप्त आधार नभएको उल्लेख छ । कम्पनीको उद्देशय विपरित ठोस योजना बिनानै बोनस सेयर जारी गर्ने निर्णयले कम्पनीको स्वायत्तता मात्र हैन राज्यलाई समेत प्रत्यक्ष नोक्सानी रहेको दाबी गरेका छन् ।


त्यसैगरी, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा टेलिकमलाई दूरसञ्चार माफियाबाट बचाउनका लागि हस्तक्षेपकारी भूमिका आवश्यक रहेको समेत बताएका छन् । अध्ययननै नगरी पूँजी वृद्धि गर्ने निर्णय खेदजनक रहेको संगठनले जनाएको छ । नेपाल सरकारको स्वामित्व रहेको टेलिकमको पुँजीवृद्धि योजना रद्ध गर्न संगठनले माग गरेको छ ।
 

प्रतिक्रिया