काठमाण्डौ - पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
ज्यान गुमाउने एकै परिवारका ५ जना समेत रहेका छन् । सो परिवार एक वर्ष अघि मात्र पुरानो घरबाट सुरक्षित ठाउँमा सारेको थियो । आफ्नो घरका सबैको ज्यान गएपछि विदेश रहेका माधव शर्मा हिजो नै अन्तिम संस्कार गर्न नेपाल आइपुगेका थिए ।
कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।