काठमाडौं – नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। पुलिसले २५–१६, २५–२१, २५–२३ को जित निकाल्दै अपराजित यात्रा कायम राख्यो।
लिग चरणमा पनि शीर्ष स्थानमा रहेको नेपाल पुलिस र दोस्रो स्थानमा रहेको हुमो क्लब उपाधिका लागि भिडेका थिए। प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ टोलीले भाग लिएका थिए।
लिग चरणमा पुलिसले हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स, ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा, माल्दिभ्सको वाम्को क्लबलाई ३–२ तथा माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा हराएको थियो।
नेपाल पुलिसले गत चैतमा सम्पन्न एनभिए महिला भलिबल लिग विजेता भएर काभा प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको थियो। यस प्रतियोगिताका लागि पुलिसले नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड यु स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको थियो।