काठमाडौं: श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले ११ ओभर ५ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाकिस्तानकी ओपनर गुल फिरोजाले ५७ रन र मुनिबा अलीले ४६ रनको योगदान दिए। नेपालकी बलर कविता जोशीले एक विकेट लिइन्।
यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो। नेपालका लागि कविता जोशी ३१ रनमा अविजित रहिन् भने सीता रानामगरले २६, पूजा महतोले २५, सम्झना खड्काले ४, कविता कुवरले १३, कप्तान इन्दु बर्माले ० र रुविना क्षेत्रीले ८ रन बनाएका थिए। पाकिस्तानकी सादिया इकबालले बलिङमा सर्वाधिक २ विकेट लिइन्।
यो फराकिलो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ। अब नेपालले मंगलबार समूह चरणको अन्तिम खेल भारतसँग खेल्नेछ। सेमिफाइनल पुग्न नेपाललाई उक्त खेल फराकिलो अन्तरले जित्नुपर्ने हुन्छ। यता, यदि युएईले पाकिस्तानलाई हराउन सकेमा नेपाललाई फाइदा हुनेछ।