☰

नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित, विश्वकपमा लगातार दोस्रो हार

काठमाडौं - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले दोस्रो खेलमा पनि हार बेहोरेको छ। मलेसियाको बाङ्गीमा सोमबार भएको खेलमा स्कटल्यान्डले नेपाललाई १ विकेटले पराजित गरेको हो। नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाउँदै भेट्टाएको थियो।

स्कटल्यान्डकी पिपा स्प्रौलले उत्कृष्ट प्रदर्शन गर्दै ३५ रन जोडिन्। बलिङतर्फ नेपालकी रचना चौधरी र सिमाना केसीले समान २/२ विकेट लिइन्।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट भएको थियो। नेपालकी पूजा महतोले २७ रनको योगदान दिइन्। स्कटल्यान्डकी मेसे मसेराले सानदार बलिङ गर्दै ५ विकेट झारिन्।

यो प्रतियोगितामा नेपालको लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेल पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ।

यस प्रतियोगितामा १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह 'डी' मा रहेको छ, जहाँ अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन्। समूहका शीर्ष तीन टोलीले ‘सुपर सिक्स’ मा स्थान बनाउनेछन्। फाइनल खेल माघ २० गते हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय