काठमाडौ - दोर्दी खोला जलविद्युतले जेठ २६ गते अर्थात आज बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।
कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्री निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा सबै सेयर बिक्री नभएमा असार ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीको भनाई छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
दोर्दी खोला जलविद्युतको आइपीओ पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि २० लाख १९ हजार ८६९ कित्ता मात्र सेयर निष्कासन गरेकाले माग भन्दा निकै धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । विगतलाई आधार मान्दा आवेदन दिएका सबैलाई आइपीओ पर्ने सम्भावना कम देखिन्छ ।