बागलुङ । आगमी जेठ १३ र १४ गते हुन गइरहेको नेपाल प्रेस युनियनको महाधिवेशनमा बागलुङका दीलिप पौडेलले उमेदवारी दिने भएका छन । बागलुङ शाखाले पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दीलिप पौडेललाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
युनियन बागलुङ शाखाका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा बसेको बैठकले जेठ १३ र १४ गते हेटौडामा हुने महाधिवेशनमा शाखाको तर्फबाट महासचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बागलुङ शाखाले महासचिवमा पौडेललाई सहयोग गर्न केन्द्रीय पदाधिकारी, युनियनका सबै जिल्ला शाखा तथा केन्द्रीय पार्षदलाई अपिल गरेको छ ।
पत्रकारको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्ष, सङ्गठन सुदृढीकरणमा काम गर्न सक्ने क्षमता भएकाले पौडेललाई केन्द्रीय महासचिवमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष पन्तले बताए । करिव डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार पौडेल युनियनको जिल्ला सदस्य, जिल्ला उपसभापति, जिल्ला सभापति हुँदै युनियनको पोखरामा सम्पन्न महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेल मोफसलबाट अहिले राजधानीमा रहेर नागरिक दैनिकमा कार्यरत छन् । श्रमजीवी पत्रकारको मुद्दा, पेशागत अधिकार, पत्रकारको संस्थागत क्षमता विकासमा क्रियाशील पौडेल कुशल पत्रकारको छवि बनाएका छन् ।
पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्नाकोत्तर गरेका पौडेले खोलमूलक समाचार, अर्थतन्त्र, भ्रष्टाचारको विरुद्ध कलम चलाउँदै आएका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार, नेपाल आर्थिक पत्रकार समाजद्वारा प्रदान गरिने सेजन अवार्ड लगायतका दर्जनौं संस्थाबाट पुरस्कृत पौडेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका छन् ।