काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)को इनिसियल पब्लिक अफर (आइपिओ) निष्कासनको विषयमा सरकारले यसै हप्ता निर्णय गर्न सक्ने अनुमान गर्न थालिएको छ। भारतीय सञ्चार माध्यमहरूले विशेष सूत्रको हवाला दिँदै सरकारले यसै हप्ता निर्णय गर्ने समाचार प्रकाशित गरेका छन्।
सञ्चारमाध्यमहरूका अनुसार आइपिओसँग सम्बन्धित सबैजसो काम सकिएको छ। तर शेयरको मूल्य कति हुने विषयमा भने अन्तिम निर्णय गर्न बाँकी रहेको बताइएको छ।
यस अघि नै भारत सरकारले २०२२ मार्चसम्म प्राथमिक शेयर निष्कासन गर्ने योजनमा काम गरिरहेको थियो। तर सोही समयमा युक्रेन र रुसबीच चलेको युद्धको कारण शेयर बजारको रुझान कम भयो। यस्तो अवस्थामा प्राथमिक शेयर निष्कासन गर्नु उचित नहुने भन्दै सरकार पर्ख र हेरको अवस्थामा थियो। यति बेला भारतीय शेयर बजारले पुरानै लय समाउन थालेपछि सरकारले शेयर निष्कासन प्रक्रियालाई पुन: प्राथमिकतामा राखेको बताइएको छ। हालै सरकारले एलआइसिमा २० प्रतिशत एफडिआइ भित्र्याउन भन्दै एफडिआइ नियममा संशोधन समेत गरिसकेको छ।
एलआइसीको निष्कासन भारतीय शेयर बजारको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ हुने छ। सरकारले एलआइसिमा करिब ३१.६ करोड वा ५ प्रतिशत शेयर बिक्री गरेर ६५ हजार करोड रुपैयाँ जुटाउने छ। यो भन्दा अघि पेटिएमको सार्वजनिक निष्कासन सबैभन्दा ठूलो थियो। उसले गत वर्ष मात्रै सार्वजनिक निष्कासन मार्फत भारतीय बजारबाट १८ हजार तीन सय करोड रुपैयाँ उठाएको थियो।