काठमाडौं । तीजको माहोल नजिकिँदै गर्दा मौलिकता र सामाजिक यथार्थ बोकेका गीतहरू सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा सर्जक विशाल क्षेत्रीको शब्द तथा लयमा तयार भएको ‘आमा तिम्रो दुःख’ले आमाहरूको पीडा, संघर्ष र जीवनका भोगाइलाई गीतमार्फत प्रस्तुत गरेको छ।
गीतमा गाउँघरमा देखिने आमाहरूको जीवनकथा र उनीहरूले भोग्दै आएका दुःख तथा संघर्षलाई विषय बनाइएको छ। विशेषगरी विगतमा नेपाली आमाहरूले परिवार र समाजका लागि गरेका त्याग तथा भोगेका पीडालाई गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
‘आमा तिम्रो दुःख’ केवल तीज गीतका रूपमा मात्र नभई नेपाली समाजको एउटा पुस्ताले भोगेको यथार्थलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयासका रूपमा समेत लिन सकिन्छ। गीत सुन्दा गाउँघर, बाल्यकाल र आफ्नै समाजमा देखिएका आमाहरूको जीवन सम्झिने अवस्था सिर्जना हुने गरी शब्द र भाव प्रस्तुत गरिएको छ।
सर्जक विशाल क्षेत्रीले गीतमा आमाहरूको पीडा र संघर्षलाई गहिरो रूपमा उठाएका छन्। यस्ता सिर्जनाले नेपाली मौलिकता जोगाउनुका साथै नयाँ पुस्तालाई विगतका पुस्ताले भोगेका दुःख र संघर्षबारे बुझाउने माध्यम बन्ने देखिन्छ।
गीतमा विशाल क्षेत्रीकै शब्द तथा लय रहेको छ भने अञ्जिता विश्वकर्माले स्वर दिएकी छन्। याम थापा मगरको संगीत संयोजन रहेको गीतको निर्देशन दुर्गा पौडेलले गरेका छन्।
गीतको भिडियोमा रञ्जिता गुरुङ, रश्मि भट्ट र सृष्टी खड्कीको अभिनय रहेको छ। गीतको अडियो तथा भिडियो पक्षलाई समेत मर्मस्पर्शी बनाउने प्रयास गरिएको छ।
तीजका नाममा मनोरञ्जनात्मक गीतहरू मात्रै सार्वजनिक भइरहेका बेला ‘आमा तिम्रो दुःख’ले भने नेपाली समाजका आमाहरूको कथा र पीडालाई केन्द्रमा राखेको छ। त्यसैले यो गीतले तीजको मौलिकता र सामाजिक भावनालाई समेत प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।