व्याजदर घटाउने पहलमा अर्थमन्त्री शर्मा

काठमाडौं । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै अर्थमन्त्री जनार्दन शर्माले चासो दिएका छन् । व्यवसायीले सरकारलाई तीब्र दबाब दिएपछि अर्थमन्त्री शर्माले सरोकारवालासँग छलफल गरेका हुन् ।

आजको करिब २ घण्टा भन्दा बढी भएको छलफलमा अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका २ जना सचिव, आपूर्ति सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष विष्णु अग्रवाल, चेम्बर अध्यक्ष राजेन्द्र मल्ल रहेका थिए । ब्यवसायहरुसँगको छलफल राहतको कुरा उठेपछि अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको संयोजकत्वमा कमिटि गठन गरीएको छ । कमिटिमा राष्ट्र बैंकबाट १ जना, बैंकर्स संघबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना, एफएनसीसीआई, सीएनआई र चेम्बरबाट १÷१ जना र आपूर्ति मन्त्रालयबाट १ जना प्रतिनिधि रहने छन् ।

उक्त कमिटिलाई ५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन समय दिइएको छ । समितिले ब्याजदरमा के कति छुट तथा राहत दिने भन्ने अध्ययन समितिले सिफारिस गर्ने जनाएको छ ।केही दिन अघि मात्र एक सार्वजनिक कार्यक्रममा बोल्दै बैंकहरुले बढाएको ब्याजदरप्रति असुन्तुष्टी जनाएका अर्थमन्त्री शर्माले ब्याजदर निर्धारणमा हस्तक्षेप गरेका हुन ।

प्रतिक्रिया