काठमाडौं - तीन मौसमी प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।