पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

काठमाडौं - पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रले माग गरेको छ।

पाथीभराको मुकुमलुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रुपमा अघि बढाउने वातावरण निर्माण गरिदिन भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन्। 

बुधबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहरीकरणका लागि आग्रह गरेका हुन्। 

‘ताप्लेजुङमा स्थापित पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर हो। सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रुपमा रहेको यस शक्ति पीठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविधितै छ‘, विज्ञप्तिमा भनिएको छ,

‘पाथीभरामा बर्सेनि करिब तीन लाखको सङ्ख्यामा भक्तजन आउने गर्छन्। यो सङ्ख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केवलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरूलाई निजी क्षेत्रको आग्रह छ,’ अपिलमा भनिएको छ।

निजी क्षेत्रले पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गरी ताप्लेजुङमा व्यावसायिक अवसरहरुको सिर्जना गर्नु अत्यन्तै जरुरी भएको उल्लेख गरेको छ। ताप्लेजुङमा केबलकार सञ्चालनमा आएपछि जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारीलगायतका विभिन्न अवसर सिर्जना हुने निजी क्षेत्रको भनाइ छ।

यसबाट स्थानीय स्तरमा रोजगारी–स्वरोजगारीको सिर्जना गर्ने, जिल्लाको पर्यटन प्रवर्द्धनमा फराकिलो आयाम थप हुने, नयाँ पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेको तर्फ पनि निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ।रासस 

 

प्रतिक्रिया