नेप्सेको साइटमा महत्पूर्ण परिवर्तन हुने

काठमाडौं - नेप्सेको साइटमा देखिने फ्लोरसिट अब बन्द हुने भएको छ । 

नेपाल धिताेपत्र बाेर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लाइभ फ्लाेरसिट बन्द गराउने निर्देशन दिएकाे छ। 

कारोवार समयमा नै फ्लोरसिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन  सुझाव तथा गुनासो आएकाे भन्दै बाेर्डले फ्लाेरसिट हटाउन निर्देशन दिएकाे हाे। 

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएकाे छ। 

हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको जनाउदै बोर्डले एग्जिविशन कक्ष खोल्न निर्देशन दिएको हो।

त्यस अनुसार सबै ब्रोकरले कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गरेर एग्जिविशन कक्ष खोल्न सक्नेछन्।

धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष बन्द गरेकाे थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय