अविरल वर्षाले पहिरो र बाढी: १० जनाको मृत्यु, गण्डकीमा सबैभन्दा बढी क्षति

सांकेतिक तस्विर

काठमाण्डौ । शनिबार अविरल वर्षासँगै आएको पहिरो र बाढीले विभिन्न जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। गण्डकी प्रदेशमा स्याङ्जा, पर्वत, र तनहुँमा पहिरोले ७ जनाको ज्यान गएको छ। स्याङ्जामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने पर्वत र तनहुँमा पहिरोले अन्यको ज्यान लिएको छ। काठमाडौंको नागार्जुनमा पहिरोमा परेर १ जना र काभ्रेको रोशी गाउँपालिकामा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ।

बाढीले उपत्यकाका बागमती, विष्णुमती, र हनुमन्ते नदी किनारका बस्तीहरू डुबानमा परेका छन्। विशेषगरी बागमती किनारका इमाडोल, टेकु, र युनएनपार्क क्षेत्रमा बाढी पसेको छ। पोखरामा बाढीको जोखिमबाट जोगाउन सेती नदी किनारका २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने कास्कीमा पहिरोले घरको भान्छा पुरेको छ।

बागलुङ, पाल्पा, र सल्यानमा पहिरोले ग्रामीण सडकहरू अवरुद्ध भएका छन्, जसले यातायातमा अवरोध पुर्याएको छ। बागलुङमा जलविद्युत् आयोजना बन्द भएको छ र काठेखोलामा पहिरोले केही घर जोखिममा परेका छन्।

कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ भने सुदूरपश्चिममा पहिरोले विभिन्न सडक बन्द भएका छन्। दोलखामा बाढीले तीन घर बगाएको छ र एक महिला बेपत्ता भएकी छन्।

अविरल वर्षाले देशभरका बस्तीमा क्षति पुर्याएको छ, र स्थानीय प्रशासनले प्रभावितलाई सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया