देशभर मनसुनी वायुको प्रभाव – भारी वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति बदली र वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अति ठूलो वर्षाको सम्भावना

आज राति पनि देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाका साथै अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बाढी र पहिरोको जोखिम

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।

आज बिहान सूर्योदय ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ।

प्रतिक्रिया