बालबालिकाको संख्या घट्दो: ११२ बालक जन्मिँदा १०० बालिका मात्रै

काठमाण्डौ । नेपालमा बालबालिकाको जनसंख्या घट्दै गएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालय थापाथलीको प्रतिवेदनअनुसार ११२ बालक जन्मिँदा १०० मात्र बालिका जन्मिरहेका छन्, जसले भविष्यमा जनशक्ति र समग्र समाजमा गम्भीर असर पर्न सक्ने चिन्ता उत्पन्न गरेको छ। 

अध्ययनले देखाएको छ कि बालबालिकाको समग्र जनसंख्या ३३.८ प्रतिशत मात्र रहेको छ, जसमा ५१.८ प्रतिशत बालक र ४८.२ प्रतिशत बालिका छन्। बालबालिकाको बसाइँसराइ दर पनि बढ्दो क्रममा छ, जहाँ ९.६ प्रतिशत बालबालिका आन्तरिक बसाइँसराइमा छन्। मुख्य कारणहरू आश्रित अवस्था, अध्ययन, तालिम, र मधेश क्षेत्रमा विवाह रहेको छ।

अध्ययनले ५.३ प्रतिशत बालबालिकाले पढाइ छाडेका र ५.४ प्रतिशतले विद्यालय नै टेकेका छैनन् भन्ने तथ्य पनि सार्वजनिक गरेको छ। नेपालमा ७१.३ प्रतिशत परिवारमा बालबालिका छन्, तराईमा यो संख्या ७६.१ प्रतिशत छ भने पहाड र अर्धसहरी क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको छ। बालबालिकाको अपांगता दर १.२ प्रतिशत रहेको छ, जबकि पछिल्लो १० वर्षमा १५,८६८ बालबालिकाको मृत्यु भएको तथ्यांकले देखाएको छ। यो अवस्थाले नेपालमा बालबालिकाको भविष्यप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ।

प्रतिक्रिया