काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध गराउने बताउनु भएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । मन्त्री भुसालले भनिन्, ‘अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् ।
यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन् ।’ मन्त्री भुसालले अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने बताइन् । मन्त्री भुसालका अनुसार १०० केभिएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ ।
मन्त्री भुसालले भनिन्, ‘बीस युटिनभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई (सामुदायिक संस्थाअन्तर्गतका ग्राहकसमेत) निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको छ । अधिकतम विद्युत खपत गर्ने ग्राहकको महसुल पनि प्रतियुनिट १ रुपैयाँ घटाएर रु ११ बनाइएको छ ।’
आफूले गरेको निर्णयले विपन्न वर्गलाई सहुलियत मिलेको छ भने धेरै विद्युत खपत गर्ने ग्राहकलाई प्रोत्साहन मिल्नेछ साथै घर भान्साका ग्यास चुल्हो विस्थापन गर्न मद्दत विश्वास व्यक्त गर्दै उनले भनिन्, ‘मैले घोषणा गरेको ‘स्वदेशी विद्युत जोडौँ, विदेशी ग्यास छोडौँ’ भन्ने अभियान कार्यान्वयमा ल्याउन सहयोग पुगेको छ ।’
सिँचाइ क्षेत्रमा आफूले गरेका कामबारे उनले सिंचाइमा करिब ५० प्रतिशत विद्युत महसुल घटाएको र थप केही महसुल सिँचाइ विभागमार्फत सिधै प्राधिकरणलाई भुक्तानी गर्नेगरी कृषकलाई सहुलियत दिने निर्णय गरेको बताइन् । मन्त्री भुसालले आफ्नो निर्णयले सिञ्चित क्षेत्र विस्तार हुने र कृषि उत्पादनमा बृद्धि हुने विश्वास व्यक्त गरिन् ।