नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं – घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपालको जितमा गोलकिपर जियारेथ शेखको उत्कृष्ट प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेल्यो। उनले पेनाल्टी सुटआउटमा दोस्रो र तेस्रो प्रहारमा लगातार बल रोकेका मात्र नभई नेपालको चौथो प्रहार आफैंले गर्दै गोलसमेत गरेका थिए। त्यसअघि, नेपालले तीनवटै प्रहारमा गोल गरेको थियो।दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरेपछि गोलकिपर शेखलाई कप्तानीको जिम्मेवारी सुम्पिएको थियो।

निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले सुरुवाति अग्रता लिएको थियो।भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो। नेपालका निराजन धामीले ७८ औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। अब नेपालले भोलि भारत र बंगलादेशबीचको खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया