काठमाडौं । पूर्वी नेपालका विभिन्न स्थानमा भारी वर्षा भएको छ। पछिल्लो १२ घण्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा मापन भएको छ। अनारमनी बिर्तामा ३३.२ मिलिमिटर र दमकमा ३५.६ मिलिमिटर वर्षा भएको छ।
यसैगरी बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागबाट मनसुन बाहिरिएको घोषणा गरे पनि देशका पूर्वी भूभागमा मनसुनी प्रभाव कायमै रहेको जनाएको छ।
मौसमविद्का अनुसार कोशी प्रदेशबाट अझै मनसुन पूर्ण रूपमा बाहिरिन नसकेकाले पूर्वी नेपालमा वर्षा भइरहेको हो। त्यसमाथि कोशी प्रदेश आसपास तथा आसामतर्फ रहेको न्यूनचापीय प्रणाली र त्यसको वरिपरिको वायुमण्डलीय प्रभावका कारण पूर्वी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षासमेत भएको हो।
मौसमविद् प्रतिभा महर्जनका अनुसार नेपाल नजिक रहेका न्यूनचापीय प्रणालीको प्रभावले पूर्वी क्षेत्रमा वर्षा भइरहेको छ। मनसुनी वायु पूर्ण रूपमा बाहिरिन बाँकी रहेकाले त्यसको प्रभावसँगै पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन्।
उनका अनुसार अबको एक–दुई दिन लगातार झरी पर्ने सम्भावना भने कम छ। तर दिउँसोदेखि साँझसम्म केही समय वर्षा हुने क्रम जारी रहन सक्छ। स्थानीय वायु तथा साना स्थानीय मौसमी प्रणालीका कारण केही स्थानमा एक्कासि भारी वर्षा हुन सक्ने भए पनि कुन स्थानमा भारी वर्षा हुन्छ भनेर अहिले नै निश्चित रूपमा भन्न कठिन रहेको महर्जनले बताइन्।
काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। आजको तुलनामा भोलि र पर्सि काठमाडौंमा वर्षाको सम्भावना केही बढ्ने देखिएको छ।