काठमाडौं । सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या सन् २०२५ को सोही महिनाको तुलनामा बढी हो। गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए।
सेप्टेम्बरमा नेपाल भित्रिएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ जना आएका छन्। दक्षिण एसियाबाट आउने पर्यटकमा भारतीय नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ। एक महिनामा १७ हजार ४२५ जना भारतीय पर्यटक नेपाल आएका छन्।
दक्षिण एसियाका अन्य मुलुकबाट श्रीलंकाका ७ हजार १०८, बंगलादेशका ३ हजार ९६४, भुटानका १ हजार १११, पाकिस्तानका ४२९, माल्दिभ्सका ४८ र अफगानिस्तानका ८ जना पर्यटक नेपाल आएका छन्।
यसैगरी अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ जना पर्यटक नेपाल प्रवेश गरेका छन्। तीमध्ये चीनबाट ११ हजार २१२, जापानबाट २ हजार ६६, दक्षिण कोरियाबाट १ हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ जना पर्यटक आएका छन्।
क्षेत्रगत रूपमा युरोपबाट १५ हजार १४८, ओसियानाबाट ५ हजार ४२२, अमेरिकाबाट १० हजार १०७, मध्यपूर्वबाट २ हजार ६०६ र अफ्रिकी मुलुकबाट ४ हजार ५६८ जना पर्यटक नेपाल आएका छन्।
समग्रमा गत वर्षको तुलनामा पर्यटक आगमनमा वृद्धि भए पनि प्राकृतिक विपद्का कारण अपेक्षित रूपमा पर्यटक संख्या बढ्न नसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सडक तथा अन्य पूर्वाधारमा क्षति पुर्याउनुका साथै पर्यटन आवागमनमा समेत प्रभाव पारेको थियो।