काठमाडौं - नेपालले अमेरिकाविरुद्धको टी-ट्वेन्टी क्रिकेट सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै क्लिन स्विप गरेको छ। अमेरिकाको मैदानमा भएको तीन खेलको सिरिजमा नेपालले सबै खेल जित्दै आफ्नो लयमा फर्किएको संकेत दिएको हो।
आईसीसी विश्वकप लिग टू अघिको यो सिरिजमा पहिलो खेलमा १७ रनको जित निकालेको नेपालले दोस्रो खेलमा सुपर ओभरमा रोमाञ्चक जित हात पारेको थियो। तेस्रो र अन्तिम खेलमा नेपालले ८ विकेटको फराकिलो जित निकाल्दै सिरिज ३-० ले आफ्नो पक्षमा पार्यो।
डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा घरेलु टोलीले ५ विकेटको क्षतिमा १५६ रन बनायो। अमेरिकाका ओपनर साइटेजा मुकामल्लले ६८ रनको योगदान गर्दा मिलिन्द कुमारले ४३ रन जोडे। नेपालका बलर सोमपाल कामीले ३ विकेट लिँदा रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए।
१५७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपालले १६.४ ओभरमा २ विकेटको मात्र क्षतिमा लक्ष्य पुरा गर्यो। नेपालका लागि ओपनर आशिफ शेखले ३८ बलमा अर्धशतक पुरा गर्दै ५० रन बनाए। अनिल शाह १३ रनमा आउट भए। कुशल भुर्तेल ४० रनमा नटआउट रहँदा कुशल मल्लले ४४ रन बनाउँदै जित सुनिश्चित गरे।
सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले ९२ रन बनाएका थिए, जुन सात महिनापछि टी-ट्वेन्टीमा उनको अर्धशतक हो। नेपालले पछिल्ला ६ महिनामा लगातार तीन खेलमा जित दर्ता गरेको यो अवसर हो। यस सिरिजले नेपाललाई आगामी खेलमा उत्कृष्ट प्रदर्शनको लागि मनोबल प्रदान गरेको छ।
नेपालले कात्तिक ९ गतेदेखि डालसमै अमेरिका र स्कटल्यान्डसँग आईसीसी विश्वकप लिग-टू सिरिज खेल्ने तालिकारहेको छ।