काठमाडौँ–नेपाली बजारमा विदेशी मदिराको बर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले ‘यार्सागुम्बा’ ह्विस्की विदेश निर्यात सुरु गरेको छ । एभरेष्ट हब्र्स प्रालीले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्ड ‘यार्सागुम्बा’ जापान निर्यात भएको छ । जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो ।
यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्टे«लिया, चीन निर्यात हुँदै आएको थियो । नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ । जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक बिक्रम भण्डारीले बताए । नेपाल हिमालयको देश भएको र जापानीजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्राण्डलाई सहजै चिनाउन सजिलो भएको उनले बताए ।
यार्सागुम्बा अहिले जापानको टोकियो सहर आसपास मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । भण्डारीका अनुसार जापानका मुख्य सहरका होटल, रिसोर्ट, क्लब, रेष्टुरेन्ट, बारलगायतमा यार्सागुम्बा पुराउने तयारी छ । अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउनका लागि पनि केहि कम्पनीसँग कुराकानी भएको उनले बताए ।
लण्डनबाट एमबीए गरेका भण्डारी जापानमा व्यवसाय गर्दै आइरहेका छन् । जापानको होटल र रेष्टुरेण्टबारे राम्रो दख्खल राख्ने भण्डारीले छिटैं जापानका मुख्य सहरका प्रख्यात होटल र रेष्टुरेन्टमा यार्सागुम्बा उपलब्ध हुने बताए । यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ । यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रण गरिएको कम्पनी जनाएको छ । स्वाथ्यका लागि औषधीको गुणसमेत रहेको कम्पनीको दाबी छ ।