काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालका तीन वर्षको उपलब्धि सार्वजनिक गरेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले प्राधिकरणको अहिलेको आर्थिक अवस्थाबारे जानकारी दिए। उनका अनुसार प्राधिकरणले ४७ अर्ब ४१ करोड रुपैयाँको सञ्चित नाफा गरेको छ। आठ वर्षअघि प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँको सञ्चित घाटामा रहेको बताउँदै उनले प्राधिकरणको आर्थिक प्रगति उल्लेखनीय भएको बताए।
२०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको घिसिङले प्राधिकरणका सामुदायिकसहित ५९ लाख ६० हजार ग्राहक रहेको जानकारी दिए। आठ वर्षअघि, पहिलो कार्यकालमा प्रबन्ध निर्देशक बनेको समयमा प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा, अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको बताए।
घिसिङले प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको र सुकुम्बासी बस्ती, चेपाङ बस्ती, र मुसहर बस्ती जस्ता विपन्न वर्गका घरपरिवारमा नि:शुल्क मिटर वितरण गरेर विद्युत् पुर्याएको जानकारी पनि दिएका छन्।