रुकुम पश्चिममा बाढीले तीन बालिकाको मृत्यु, एक बेपत्ता

सांकेतिक तस्विर

काठमाडौं। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ र एक जना बेपत्ता छन्। दुई बालबालिकासहित ६ जना घाइते भएका छन्।

गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको छ। नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन्।

घाइतेहरूमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की, र ६५ वर्षीया कल्पना कामी छन्। उनीहरूलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार घटनास्थलमा प्रहरी टोलीले अद्यावधिक विवरण टिपेको छ। इलाका प्रहरी पोष्ट आठबिसकोटबाट ११ जनाको टोली घटनास्थलमा खटिएको थियो। गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको छ।

आज बिहान साढे चार बजे सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको थप टोली घटनास्थल प्रस्थान गरेको थियो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको नेतृत्वमा चारवटै सुरक्षा अंगका प्रमुख र रेडक्रसको पदाधिकारीको टोली राहत सामग्रीसहित घटनास्थलतर्फ गएका छन्।

प्रतिक्रिया