फरार अभिनेता पलको अन्तिम लोकेसन बुधबार राति बालकुमारीमा

काठमाडौं - जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ । उनविरुद्ध बुधबार एक १७ वर्षीया गायिकाले तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएकी थिइन् ।



सोही दिन पलविरुद्ध जिल्ला अदालत तनहँुबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो । पलविरुद्ध उजुरी दर्ता भएको समाचारसँगै उनी फरार भएका थिए ।



प्रहरीका अनुसार समाचार आइसकेपछि पलले आफू बस्दै आएको शान्तिनगर क्षेत्र छाडेका थिए । उनले मोबाइलसमेत स्वीच अफ गरेका थिए ।



उनको खोजीमा प्रहरीका दुई महत्त्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ । उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको छ ।



महाशाखाका प्रमुख एसएसपी वसन्त बहादुर कुवँरले आफूहरु पलको खोजीमा लागेको बताए । उनका अनुसार पल घरमा छैनन् भने उनले प्रयोग गर्दै आएका नम्बर अफ छन् ।



प्रहरीका अनुसार पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए । त्यसयता उनले आफूले प्रयोग गर्दै आएको मोवाइल र नम्बर अफ राखेका छन् ।


प्रहरी टोली बालकुमारी पुगे पनि उनी फेला परेनन् । 

प्रतिक्रिया