काठमाडौँ – सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले आफ्नो अन्तिम प्रतिवेदन प्रतिनिधिसभामा बुझाएको छ। सोमबारको बैठकमा समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गर्दै कार्यादेशअनुसार सहकारी छानबिनको काम गरिएको बताए।
समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरी सरकारलाई आवश्यक सुझावसहित थप छानबिन र कारबाहीको सिफारिस गरेको छ। छानबिनका क्रममा सहकारीमा नक्कली सम्बन्ध बिच्छेद, नक्कली ऋणी, नक्कली धितो, नक्कली खाता लगायतका कानुन विपरीतका गतिविधि फेला परेका छन्।
समितिको प्रतिवेदन बुझ्दै सभामुखले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउन संसद सचिवालयलाई निर्देशन दिएका छन्। यो समिति जेठ १५ गते प्रतिनिधिसभाद्वारा गठन गरिएको थियो।