कमल राज ढकाल/ चितवन- चितवनका पर्यटन व्यवसायीहरुको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाको १८औं साधारण सभा तथा नबौं अधिवेशन आइतवार देखि सुरु भएको छ ।
सौराहामा आयोजना गरिएको साधारण सभा तथा अधिवेशनको होटल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहले उद्घाटन गरेका छन् । अधिवेशनले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष,एक महासचिव, एक कोषाध्यक्ष र १५ जना सदस्य गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । आइतबार साधारण सभा तथा अधिवेशन उद्घाटन गरी सोमबार बन्दसत्र मार्फत नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको छ ।
सर्बसम्मत नयाँ कार्यसमिति चयन गर्ने गरी व्यवसायीहरु आन्तरिक रुपमा सहमति नजिक रहेको बुझिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका उपाध्यक्ष शाहले राज्यले पर्यटन व्यवसायलाई उद्योगको मान्याता दिन नसकेको बताए । कोरोनाको महामारीका कारण थलिएको पर्यटन व्यवसाय अझै उठ्न नसकेको भन्दै उनले पर्यटन व्यवसायको विकासको लागि राज्य उदासीन रहेको बताए ।
सरकारको बैङ्किङ नीतिको कारण व्यवसायी चर्को व्याजदरको मारमा परेको उनको भनाई छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कालिका नगरपालिकाको पर्यटन विकासको लागि सौराहाका पर्यटन व्यवसायीसंग सहकार्य गर्न तयार रहेको बताए । कालिकामा रहेको पर्यटनकिय स्थान भिमवली सामुदायिक वनमा जिप सफारी सन्चालनमा रहेको बताउदै गैरिबारी, सिद्दी मजवङ झर्ना पर्यटन र प्रयावारणमा सहकार्य गरि प्रबन्धन गर्न कालिका नगरपालिका उत्साहित रहेको बताउनु भयो ।
क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले कोरोना महामारीका कारण बार्षिक चार लाख पर्यटक भित्र्याउने योजना असफल भएको बताए । कार्यक्रममा पत्रकारिता मार्फत चितवनको पर्यटन विकासमा खेलेको भूमिकाको कदर गर्दै पत्रकार कोमलचन्द्र भगतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, क्षेत्रीय होटल संघ चितवनका निर्वतामान अध्यक्ष सुमन घिमिरे, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ,चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, क्षेत्रीय होटल संघ भक्तपुरका अध्यक्ष सत्यराज खनाल लगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष अन्जनकुमार पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव गुणराज थपलियाले सञ्चालन गरेका थिए ।