काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि कर्जा विस्तार भने सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूको निक्षेप १४.६ प्रतिशतले बढ्दा कर्जा तथा लगानी ४.२ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
समीक्षा वर्षमा वाणिज्य बैंकहरूको कुल निक्षेप ९ खर्ब ५६ अर्ब २९ करोड रुपैयाँले बढेर २०८३ असार मसान्तमा ७४ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा निक्षेप वृद्धि १३.७ प्रतिशत रहेको थियो ।
निक्षेप संकलनमा वृद्धि भए पनि कर्जा प्रवाहको गति भने घटेको छ । समीक्षा वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जा तथा लगानी २ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँले बढेर ६५ खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ७.२ प्रतिशत रहेको थियो ।
निक्षेपको संरचनामा समेत परिवर्तन आएको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको चल्ती निक्षेप २९.९ प्रतिशत र बचत निक्षेप ४५.६ प्रतिशतले बढेको छ । तर मुद्दती निक्षेप भने १५.३ प्रतिशतले घटेको छ । यसले बैंकिङ प्रणालीमा तत्काल परिचालन गर्न सकिने निक्षेपको हिस्सा बढ्दै गएको देखाउँछ ।
निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । समीक्षा वर्षमा निजी क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले बढेर ५३ खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा वाणिज्य बैंकबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको अनुपात ७८.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्राथमिकता प्राप्त क्षेत्रमा १९ खर्ब ६४ अर्ब कर्जा
वाणिज्य बैंकहरूले कृषि, ऊर्जा, पर्यटनलगायत प्राथमिकता प्राप्त क्षेत्रमा १९ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८३ असार मसान्तसम्म यस्तो कर्जा कुल कर्जाको ३८.१४ प्रतिशत रहेको छ ।
यसमा कृषि क्षेत्रमा १३.१२ प्रतिशत र गैरकृषि क्षेत्रमा २५.०२ प्रतिशत कर्जा प्रवाह भएको छ ।
यता सरकारी ऋणपत्रमा वाणिज्य बैंकहरूको लगानी भने घटेको छ । समीक्षा वर्षमा सरकारी ऋणपत्रमा बैंकहरूको लगानी ९.२ प्रतिशत अर्थात् ९५ अर्ब १७ करोड रुपैयाँले घटेर ९ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ ।
सरकारी ऋणपत्रमा गरिएको लगानीसमेत जोड्दा वाणिज्य बैंकहरूको कुल तरल सम्पत्ति १८ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल निक्षेपको २४.०६ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो अनुपात २६.७ प्रतिशत रहेको थियो ।
विकास बैंकको कर्जा विस्तार २ प्रतिशत मात्रै
विकास बैंकहरूको कर्जा तथा लगानी विस्तार पनि सुस्त देखिएको छ । समीक्षा वर्षमा विकास बैंकहरूको कुल निक्षेप ५.७ प्रतिशतले बढेर ६ खर्ब ६५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । तर कर्जा तथा लगानी २ प्रतिशत अर्थात् १३ अर्ब ५० करोड रुपैयाँले मात्रै बढेर ६ खर्ब ७३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ३.५ प्रतिशत रहेको थियो ।
विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व ५.८ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ७ प्रतिशतले बढेर ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ८.३ प्रतिशत हो ।
विकास बैंकहरूले कृषि, लघु, घरेलु तथा साना उद्यम, ऊर्जा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र घरेलु कच्चा पदार्थमा आधारित निर्यात उद्योगमा १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा कुल कर्जाको २२.६१ प्रतिशत हो ।
वित्त कम्पनीको निक्षेप ९.५ प्रतिशतले बढ्यो
वित्त कम्पनीहरूको निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ । समीक्षा वर्षमा वित्त कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व ८.३ प्रतिशतले बढेर १ खर्ब ९० अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
वित्त कम्पनीहरूको निक्षेप परिचालन ९.५ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा लगानी ३ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
निजी क्षेत्रमा प्रवाहित कर्जा ५.४ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको १.७ प्रतिशत हो ।
वित्त कम्पनीहरूले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २३.१ प्रतिशत अर्थात् २३ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेका छन् ।
लघुवित्तको सम्पत्ति ६ खर्ब ५० अर्ब रुपैयाँ
लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति तथा दायित्व ८.७ प्रतिशतले बढेर ६ खर्ब ५० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
२०८३ असार मसान्तसम्म लघुवित्तहरूको कुल निक्षेप २ खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ र सापटी २ खर्ब ४४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल कर्जा तथा लगानीमध्ये कर्जा ५ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ र लगानी ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
बीमा कम्पनीको सम्पत्ति १२ खर्ब ५१ अर्ब
बैंक तथा वित्तीय संस्थासँगै गैरबैंकिङ वित्तीय संस्थाहरूको सम्पत्तिमा पनि वृद्धि भएको छ । २०८३ असार मसान्तसम्म नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा र ७ लघुबीमा गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।
बीमा कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व १४.४ प्रतिशतले बढेर १२ खर्ब ५१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति १० खर्ब ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, कर्मचारी सञ्चय कोषको कुल सम्पत्ति तथा दायित्व १२.५ प्रतिशतले बढेर ७ खर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति ६ खर्ब २३ अर्ब २१ करोड रुपैयाँ थियो ।
सञ्चयकर्ताहरूको सञ्चित रकम ११.९ प्रतिशतले बढेर ६ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ५ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
समग्रमा बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थाहरूको निक्षेप तथा सम्पत्तिमा वृद्धि देखिए पनि कर्जा विस्तारको गति कमजोर रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । बैंकिङ प्रणालीमा स्रोत बढ्दै जाँदा कर्जा माग र लगानी विस्तार अपेक्षाकृत सुस्त रहनुले वित्तीय स्रोत परिचालनमा चुनौती देखिएको छ ।