काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान बन्द गरेर काम अघि बढाइनेछ।
यस योजनाअन्तर्गत विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सीवे, उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन र पूर्वतर्फको ह्याङ्गर एप्रोन विस्तार गरिनेछ, जसमा करिब १५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्म उडान कटौती हुनेछ। हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ।
आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले धावनमार्गसँगै समानान्तर ट्याक्सीवे बनाउन सुरक्षालाई ध्यानमा राख्दै उडान बन्द गरिएको बताए। नेपालमा हाल त्रिभुवन, भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गरी तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्।
टिआइएमा पटक–पटक मर्मत तथा क्षमता अभिवृद्धि भइरहेको छ। विसं २०७७ मा यसको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो, जुन बेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म उडान बन्द गरिएको थियो। विसं २०७५ मा पनि दैनिक १० घण्टा विमानस्थल बन्द गरी झण्डै चार महिना धावनमार्गको पूर्ण मर्मत गरिएको थियो।
हाल त्रिभुवन विमानस्थलबाट ११ हेलिकप्टर कम्पनीसहित १९ आन्तरिक तथा तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्। आन्तरिकमा दैनिक तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन्।