पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।
न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।
वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ । त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।
किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । पीडित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । अधिवक्ता गणेश अधिकारीले पीडित भनिएकी किशोरीबाट दिइएको उजुरी झुठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए ।