काठमाडौँ। यस वर्षका तीज गीतहरूमध्ये "विस्ताराले पोल्यो" बोलको गीत सर्वाधिक आलोचना खेप्ने गीतमा पर्दछ। आलोचनाका बाबजुद पनि यस गीतले दर्शकको ठूलो संख्या प्राप्त गरेको छ। यो समाचार तयार पार्दा सम्म, सो गीत यूट्युबको उत्कृष्ट सूचिमा पहिलो स्थानमा रहेको छ र २२ लाखभन्दा धेरै पटक हेरिएको छ।
यद्यपि "विस्ताराले पोल्यो" गीतमा आलोचना भए पनि सर्जक हरि गिरी भने कुशल सर्जक मानिन्छन्। उनले यसअघि पनि धेरै उत्कृष्ट र मौलिक गीतहरू सार्वजनिक गरेका छन्, तर तिनमा दर्शकको त्यति रुचि देखिँदैन। यिनै सर्जक हरि गिरीले हालैमा एक मौलिक तीज गीत "पिंजडा" सार्वजनिक गरेका छन्।
यो गीतको अडियो र भिडियो दुवै उत्कृष्ट छन्। गीतमा दाजुबहिनीको कथालाई समेट्न खोजिएको छ। हरि गिरी र सीता केसीको आवाज रहेको यस गीतको सिर्जना हरि गिरीले नै गरेका हुन्। म्युजिक भिडियोमा राजन केसी र स्मारिका ढकालले अभिनय गरेका छन्।
गीतको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका छन् भने संगीत संयोजन मदन केसीको रहेको छ।