सांकेतिक तस्विर
काठमाडौं — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि हवाई टिकटदेखि इन्धनसम्म विशेष सहुलियत दिने योजना ल्याएको छ।
प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले दुईवटै विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्ने उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलका सुझावका आधारमा यो निर्णय गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेका अनुसार, हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, र इन्धनमा सहुलियत दिने कार्ययोजना आगामी २०८३ साल भदौसम्म लागू गरिनेछ।
सरकारले ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्क र पर्यटन बोर्डद्वारा प्रतिटिकट लिइने शुल्क पनि उक्त समयसम्म नलिने निर्णय गरेको छ। यस्तै, हवाई टिकटमा लाग्ने भ्याट पनि आगामी भदौसम्म छुट दिइने योजना छ।
मन्त्री पाण्डेका अनुसार, काठमाडौंको विमानस्थलमा इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा उपलब्ध गराउन उद्योग वाणिज्य मन्त्रालयसँग समन्वय गरिएको छ। साथै, अध्यागमन कार्यालय, भिसा सेन्टर, र क्वारेन्टाइन चेकजाँचका लागि सम्बन्धित मन्त्रालयहरूले व्यवस्थापन गर्ने योजना बनाएको छ।
सरकारले यो सहुलियत योजना लागू भएपछि विमानस्थलहरूको पूर्ण क्षमतामा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ। मन्त्री पाण्डेले दुवै विमानस्थललाई राष्ट्रिय गौरवका परियोजना भन्दै, ती विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारका सम्पूर्ण निकायले समन्वयात्मक रूपमा समाधान खोजिरहेको बताए।
त्यस्तै, उनले यी परियोजनाहरूको निर्माणमा भएको ठूलो लगानीको साँवा ब्याज भुक्तानीमा समस्या रहेको उल्लेख गर्दै, विमानस्थलहरू पूर्ण सञ्चालनमा आउन नसक्दा चुनौती थपिएको बताए।