म्लाको पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महताराको धुवाँमा निस्सासिएर मृत्यु भएको छ। मायालक्ष्मी ११ दिनकी सुत्केरी थिइन् र सुत्केरी स्याहारका लागि जुनमाया दिदीकोमा आएकी थिइन्। मायालक्ष्मी सदरमुकाम रहेको चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बस्दै आएकी थिइन्।
आइतबार राति कोइलाको धुवाँले निस्सासिएर बेहोस भएका उनीहरूलाई सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। प्रतिष्ठानले मायालक्ष्मीलाई सोमबार नै मृत घोषणा गरेको थियो भने उनकी बहिनी जुनमायाको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक कामतीका अनुसार मायालक्ष्मीको ११ दिनको बच्चा भने सकुशल छन्। 'कोइला बालेर झ्यालहरू पनि बन्द गरेर सुतेका रहेछन्, भेन्टिलेटर नहुँदा उनीहरू बेहोस भएका हुन्,' कामतीले भने, 'बच्चा भने भुइँमा ब्ल्यांकेट ओछ्याएर सुताइएको थियो, बच्चा सकुशल छन्, बिसञ्चो भने देखिएको छ।'
शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको उनले जानकारी दिए। बच्चालाई प्रतिष्ठानको एनआइसियूमा राखेर उपचार भइरहेको छ। सोमबार बिहान अबेरसम्म दुवै दिदी-बहिनी नउठेपछि आफन्तले ढोका फोरेर हेर्दा उनीहरू निस्सासिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक कामतीले जानकारी दिए।