फेरि घट्यो इन्धनको मूल्य

काठमाडौं - नेपाल आयल निगमले फेरि एक पटक इन्धनको मूल्य घटाएको छ। निगमले आज सार्वजनिक गरेको विवरण अनुसार, राति १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र मट्टितेल तथा डिजलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाइएको छ।

आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँले र अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलीटर ३७ डलरले घटाइएको छ। यद्यपि, ग्यासको मूल्य बढे पनि, निगमले हाललाई त्यसलाई यथावत राख्ने निर्णय गरेको छ।नयाँ मूल्यअनुसार, पेट्रोल पहिलो, दोस्रो, र तेस्रो वर्गका क्षेत्रमा क्रमशः प्रति लिटर १६०.५०, १६२, र १६३ रुपैयाँ कायम गरिएको छ, जबकि डिजल र मट्टितेलको मूल्य क्रमशः १५१.५०, १५३, र १५४ रुपैयाँ प्रति लिटर निर्धारण गरिएको छ। 

आन्तरिकतर्फको हवाई इन्धनको नयाँ मूल्य प्रति लिटर १३२ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलीटर अमेरिकी डलर १००५ निर्धारण गरिएको छ।निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ, र तेस्रो वर्गमा काठमाडौँ, पोखरा, र दिपायललाई समेटेको छ।इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार, पेट्रोलियम पदार्थहरूको भाउ घटेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। 

एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेको भए पनि बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया