बागलुङ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित अलराउन्डर दिपेन्द्रसिंह ऐरी असार २८ गते (शुक्रबार) बागलुङ आउने भएका छन्। ग्रेस इन्टरनेशनल बागलुङ शाखाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ऐरीको आगमनको घोषणा गरेको हो।
ग्रेस इन्टरनेशनलका बागलुङ शाखाका प्रमुख ओमकार पौडेलका अनुसार ऐरीले बागलुङका उत्कृष्ट १० खेलाडीलाई क्रिकेट ब्याट तथा बागलुङ क्रिकेट लिगको विजेता टिमलाई जर्सी, हेलमेट, प्याडलगायत क्रिकेट किट्स वितरण गर्नेछन्।
शुक्रबार दोस्रो सत्रमा ऐरीले विद्यार्थी, क्रिकेट खेलाडी, खेल संघका पदाधिकारी तथा सदस्यहरू र पत्रकारहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ। ऐरीले हालै विश्वकप क्रिकेटमा नेपालको सहभागिताबारे आफ्नो अनुभव साझा गर्ने र सहभागीहरूका प्रश्नहरूको उत्तर दिनेछन्।