काठमाडौं । चार्टर्ड अकाउन्टेन्ट टपर विनय खड्का डिजिटल वालेट खल्तीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । यस अघि उनी विकास बैंकमा काम गर्थे ।
खड्काले साढे दुई वर्षजति एनआईसी एसियाको डिजिटल मार्केटिङ हेडको रुपमा काम गरेका थिए । त्यस अघि खल्तीकै प्रतिस्पर्धी कम्पनी ईसेवामा समेत काम गरिसकेको अनुभव उनको छ ।
यद्यपि सीएको अध्ययन पुरा गरिसकेपछि उनको करियर भने करिब पाँच वर्ष अघि एनआईसी एसिया बैंकबाटै भएको हो । तत्कालीन समयमा खड्का बीपीआर रणनीतिको क्षेत्रमा काम गर्नेगरी बैंकिङ क्षेत्रमा जोडिएका थिए ।
प्रयोगकर्ता मैत्री डिजिटल वालेटको रुपमा आफ्नो परिचय स्थापित गरेको खल्ती पछिल्लो समय व्यवसायिक रुपमा भने त्यति सशक्त रुपमा अगाडि बढ्न सकिरहेको थिएन । बैंकिङ तथा फिनटेकको क्षेत्रमा सुरुदेखि रुची राख्ने नव नियुक्त सीईओ खड्का व्यवसायिक तथा रणनीतिक रुपमा खल्तीलाई नयाँ उचाइ दिनु आफ्नो मूख्य लक्ष्य रहेको बताउँछन् ।