काठमाडौं। नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा यो वृद्धि दर २१.१ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.६९९ अर्ब ३४ करोड पुगेको जनाएको छ। यो आय अघिल्लो वर्षको सोही अवधिमा रु.६६९ अर्ब ७७ करोड रहेको थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या चालु आर्थिक वर्षमा १ लाख ९० हजार ३८४ पुगेको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको हो। पुनः श्रम स्वीकृति लिनेको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै १ लाख ३५ हजार ४२५ पुगेको छ।
अघिल्लो वर्षको पाँच महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ७१ हजार ९७५ थियो भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २ हजार ५४२ थियो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा प्राप्त विप्रेषणले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति उपलब्ध गराएको छ।