नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकाउने तयारी गरिरहेको छ। गत वर्षको कात्तिक २७ गते नेपाल सरकारले टिकटक बन्द गरेको थियो। टिकटकमार्फत सामाजिक सद्भाव खल्बलिने गतिविधि भएको भन्दै तत्कालीन प्रचण्ड सरकारको मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
तर अब, १० महिनापछि, सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरिरहेको छ। सरकारले तीन महिनाभित्र सूचीकरण प्रक्रिया पूरा गर्नुपर्ने शर्तसहित प्रतिबन्ध फुकाउने योजना बनाएको हो। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले यसका लागि आवश्यक अध्ययन गर्न कर्मचारीहरूलाई निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिबन्ध फुकाउन सहमति जनाउने संकेत देखाइसकेका छन्। त्यसपछि, मन्त्रीले कर्मचारीहरूलाई अध्ययन र प्रक्रिया पूरा गरेर टिप्पणी पेश गर्न निर्देशन दिएका हुन्।
टिकटकले नेपालमा दर्ता भएर सञ्चालनमा आउन र नेपालको कानुन मान्न तयार रहेको बारम्बार स्पष्ट गर्दै आएको थियो। यसै सन्दर्भमा, नेपाल सरकारले टिकटक पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
केही दिनअघि, टिकटकले नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयलाई केही प्रतिबद्धतासहित पत्राचार गरेको थियो। टिकटकले आफू नेपाल सरकारको कानुन मान्ने र सम्पूर्ण प्रक्रिया पूरा गर्न तयार रहेको उल्लेख गरेको थियो, जसले गर्दा अब नेपाल सरकारले टिकटक खुलाउने तयारी गरेको हो।