जेठ १ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने

काठमाडौं । आउँदो जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले निर्णय गरेको छ ।

बैशाख २७ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आगामी आवको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुने भएको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

यस्तै, बिहीबार मन्त्रिपरिषद् बैठकले प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

यसका साथै अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने, समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा शन्दलाल माझीलाई मनोनयन गर्ने र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया