आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने,कति कित्ता पर्ला ?

काठमाण्डौ - पछिल्लो समय एक पछि अर्को कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गरिरहेका छन् । यसै बीच अर्को नयाँ कम्पनीले पनि शेयर निष्कासन गर्ने भएको छ । 

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले जारी पूँजी २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । जसका लागि कम्पनीले असोज २० गते बुधबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ निष्काशनका लागि अनुमति माग गरेको छ । 

लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सबै काम गर्न बीओके क्यापिटल मार्केटलाई चयन गरी सकेको छ । 

लघुवित्तको असार ३१ गते संस्थाको केन्द्रीय कार्यालय, बनेपामा तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकबाट अनुमति लिने बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था रहेको छ । 

हाल संस्थापकबाट १ करोड ४० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने ६० लाख रुपैयाँ बराबरको शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया