काठमाण्डौ । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडफाँड यसै साता गर्ने तयारी रहेको विक्री प्रवन्धकले जनाएको छ ।
कम्पनीको प्रिअलटमेन्ड सकेसम्म आज गर्ने तयारी रहेको लक्ष्मी क्यापिटलले जनाएको छ । केही कागजी प्रक्रिया बाँकी रहेको हुँदा आजै सक्ने र प्रारम्भीक बाँडफाँड गर्ने तयारी रहेको क्यापिटलले जनाएको छ । प्रिअलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।