काठमाडौं — नेप्सेमा सूचीकृत ७६ हाइड्रोपावर कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। ९१ सूचीकृत कम्पनीहरूमध्ये वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश कम्पनीहरू नोक्सानमा रहेका छन्, जसमा अपर तामाकोशी सबैभन्दा बढी नोक्सानीमा परेको छ। कम्पनीको कर्जाको लगानी धेरै हुँदा घाटा व्यहोर्नु परेको छ।
यद्यपि, धेरै आम्दानी गर्ने कम्पनी पनि अपर तामाकोशी नै हो। यसको २१ अर्ब १८ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ, जुन सबैभन्दा धेरै हो। चिलिमे दोस्रो स्थानमा ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजीसहित रहेको छ।
जगेडा कोषको हिसाबमा बुटवल पावर कम्पनी सबैभन्दा अगाडि छ, जसको जगेडा कोषमा ३ अर्ब ६२ करोड २१ लाख ४ हजार रुपैयाँ छ। चिलिमे हाइड्रोपावर र साहस उर्जाको जगेडा कोष क्रमशः २ अर्ब ८० करोड र २ अर्ब ५६ करोड रुपैयाँ छ।
आम्दानीका हिसाबले पनि अपर तामाकोशी अग्रणी छ, जसले विद्युत् बिक्रीबाट ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ। तर, सबैभन्दा धेरै नाफा कमाउनेमा चिलिमे हाइड्रोपावर अगाडि छ, जसले ६५ करोड २९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ।
प्रतिसेयर आम्दानीको हिसाबमा माण्डु हाइड्रोपावर अग्रणी छ, जसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा रहेको छ। हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने ७६ मध्ये ३८ कम्पनीहरू नोक्सानमा छन्।