काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो। सो आईपीओमा अब असार २२ गतेसम्म आवेदन दिन सकिने भएको छ। सोचे अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थप गरिएको हो । स्थानिएको लागि छुट्याइएको शेयरमा प्राय न्यून आवेदन पर्ने गरेको छ ।
कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।