काठमाडाैं - लगातारको वर्षाले पहिरोको जोखिम उच्च भएको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन रोक्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले रातिसम्म पनि वर्षा जारी रहने सम्भावनालाई मध्यनजर गर्दै मानवीय तथा भौतिक क्षतिबाट जोगिन सवारी साधन चलाउन नदिने निर्णय गरेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक इन्द्रदेव यादवले आज बेलुकी ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइने जानकारी दिए। अत्यावश्यक सवारी भने सञ्चालन गर्न पाइने छ।
हाल सडक अवरुद्ध नभए पनि जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ। यसअघि, गत असार २८ गते राति सिमलतालमा पहिरोले बस बगाउँदा ६२ जनाको ज्यान गएको थियो।