काठमाडौं - बैंकहरुले वैशाख महिनामा ब्याजदर नबढाउने भएका छन् । अब निक्षेपमा चैतकै ब्याजदरलाई निरन्तरता दिइने छ ।
ब्याज बढाउँदै निक्षेप बढेको विगतको तथ्यांकले देखाएन । अब विस्तारै तरलता अवस्था पनि सहज हुँदै जाने संकेत देखिएको छ । यसैकारण वैशाखका लागि थप ब्याजदर वृद्धि नगरिने निर्णय नेपाल बैंकर्स संघले गरेको हो । संघले आइतबार वाणिज्य बैंकका सीइओहरुसँग छलफल गरी ब्याजदर नबढाउने सहमतिमा पुगेको हो ।
यसआधारमा अब अधिकतम ब्याजदर ११.०३ प्रतिशत नै कायम हुनेछ । यस भन्दा कम ब्याजदर कायम गर्न पनि पाइनेछ ।
त्यसो त अर्थमन्त्री जनार्दन शर्मा पनि बैंक ब्याजदर थप माथि नजाओस् भन्ने पक्षमै थिए । ब्याजदर थप माथि नजाने भएपछि कर्जा लिएका ऋणी र सेयर बजारका लगानीकर्तालाई केही राहत मिल्ने भएको छ ।
केही दिनमा विकसित भएका यी घटनाक्रमहरुलाई आजको शेयर बजारले कस्तो प्रतिक्रिया दिन्छ भन्ने धेरैको अपेक्षा रहेको छ ।