राप्ती हाइड्रो आइपीओको बाँडफाड हुने मिति तोकियो, शेयर पर्नु भाग्यको भर

काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर सोमबार (साउन ९ गते) बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार प्रिअलमेन्ट सकाएर सोमबार क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट तयारी रहेको बताएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख १७ हजार ६९४ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी १३ लाख २० हजार ९९४ जनाको भने हात खाली हुनेछ ।

रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय